मेरो नागरिक सर्वोच्चता
Oct 30th, 2009 मा Madan Mani
शनिबारको दिन बिहानी पख देखें मैले एउटी सुन्दरीलाई………हो ठ्याक्कै यही गीत बजिरहेको थियो बाहिर मेरो आँखा खुल्दा । लौ विहानको आठ बजिसकेको रहेछ के विहान भन्ने ? दिन नै पो लागि सकेछ । घामले झ्यालको पर्दाबाट नियाली रहेको छ । उफ् आज पनि ढिला हुने भो हो, फेरी ठुस्काइ अनि नानाभाँती कुरा….उफ् । क्या बोर है यो लाइफ । शनिबारको दिन पनि पुरा निन्द्रा नै मर्ने गरि सुत्न पाइएन । मनमा हुँडरी नै आयो लाइफ देखी बिरक्त । भएर पनि के गर्नु ….त्यै मोरीको पापी मायाले तानेको छ । शरिर त घिसार्नै परो नि । आफै देखि बिरक्त मानिरहेको म कसैको कुरा सुन्ने मुडमा नि छैन । अब छिटो ब्रस गरेर फ्रेस हुने अनि शनिबारका लागि फिक्स गरिएको आफ्नी सुन्दरी सँगको भेटलाई सफलताका साथ सम्पन्न गर्ने । योजना बनिसकेको थियो मेरो निन्द्रा खुलेको १५ मिनेटका लागि कार्यान्वयनमा लाग्दै थ्यें ।
…..योर मम इज कलिङ…. योर मम इज कलिङ….. सेलफोनमा लामो रिङ आयो सँगै कल गर्नेको तस्विर । लौ विहानी पख सुन्दरीको दूरबाटै भाषण सुन्ने भइयो अनि सायद आजको भेट क्यान्सिल हुन पनि सक्ने भो । उताबाट सिधै चर्को आवाजमा कान फुकियो । कुराईको प्रतिक्रिया रे । लौ एकलौटी निर्णयमा भेटको भेन्यू चेन्ज भएको पनि सूचना रहेछ । आज्ञा सबै सिरोपर भइहाल्यो नत्र धेरै खालका कुरा होलान् । चुपचाप आमाको कुरा माने झैं उनैका कुरामा लागेर हवस् थमाएर निस्कें नयाँ भेन्यूमा । भेट सँगै उनका कुरा, आदेश अनि केही अवज्ञा माथिका मायालु प्रहारहरु पछि आजको भेटवार्तालाई सफल र सौहार्द्ध रुपमा समाप्त भएको घोषणा गरियो । अनि हातहरु हल्लाएर शनिबारलाई बिदा दिइयो ।
छ दिनको कामकाजी दैनिकी भन्दा बाहिरको शनिबार पनि हवस् र आज्ञाका पालनामा नै सकियो । सायद मानिसको स्वतन्त्रता आफू सम्म मात्र हुन्छ भनेको यही होला । अरु सँग नजिक भयो कि समाप्त । देशको सम्बन्धमा पनि यस्तै हुँदो हो । नत्र छिमेकीका कुरा शिरोपर किन हुन्थे । उनी सँगको बाई पछि मनमा कुरा खेल्दै थिए । सोचें म मेरो देशको प्रधानमन्त्री जस्तै पो भएँ की । होइन मनमोहन जस्तो एस म्याम भन्ने खालको पो भएँ की ?
केशरमहलको चोक देखी मैतिदेवीको चोक सम्म पुग्दा यस्ता कुराहरु मनमा गोलमेच सम्मेलनका सहभागी मत अनि तर्क वा कुतर्क बने । अन्तत निष्कर्ष निस्क्यो मैले मेरो नागरिक सर्वोच्चता गुमाएको रहेछु ।




