नेकपा माओवादी केन्द्रले कोभिड १९ नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन समिति सीसीएसमी खारेज गर्न माग गरेको छ ।

कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको माओवादीले ज्ञापनपत्रबाटै सीसीएमसी खारेज गर्न माग गर्ने भएको हो ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ । कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।

माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिढ नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ । ‘संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन । अहिले तेस्रो लहर आइसक्यो । त्यसैले पहिलेबाट शिक्षा लिदै तेस्रो लहरबाट जनतालाई बचाउन पर्याप्त गृहकार्य र तयारी गर्नुपर्ने आवश्यक्ता छ’, नेता पुनले भने, ‘ हामी त्यसका लागि सरकारलाई झक्झक्याउँछौ ।’

कोभिड नियन्त्रण तथा रोकथाममा माओवादीले सिंगो पार्टी पंक्ति परिचालन गर्ने भएको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिनुभयो ।

‘ति कमिटहरुले जनतामा सचेतना फैलाउने, विरामीहरुलाई सहजीकरण गर्नेछौ । साथै हाम्रा ५ हजार भन्दा बढि जननिर्वाचित प्रतिनिधिहरू, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यहरुबाट पारिश्रमिक कटाएर कोष खडा गर्ने निर्णय भएको छ’, पुनले भने, ‘त्यो रकमले औषधि उपकरण खरिददेखि,संकलन वितरण गर्ने तयारी भएको छ ।’

माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि नेपाली काँग्रेसले पनि सरकारलाई १५ बुँदे सुझावसहितको ध्यानाकर्षण पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस