जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो ।

आवेदन गरेका मध्येबाट २० लाख १८ हजार ३०८ जना आवेदक योग्य रहेका छन् । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो ।  सोअनुसार गोलाप्रथाबाट एक लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने पाँचजनाले ११ कित्ता शेयर पाएका छन् ।

आवेदन दिएकामध्ये १९ लाख दुई हजार ५१६ आवेदकले शेयर पाएनन् ।कम्पनीले रु एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

युनियन लाइफले भोलिदेखि ६४ करोड ५० लाख बराबरको आईपीओ जारी गर्दै – युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थागत कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सार्वजनिक गर्न लागेको हो । कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये, समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागनीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ भने, माग अनुसार आवेदन नपरेको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदन समयावधी बढाउने जनाएको छ ।कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ

प्रतिक्रिया दिनुहोस