नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई फोन गरेर माधव नेपाल पक्षको बैठकमा नजान आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा केहीबेर अघिमात्रै सांसद् पदबाट राजीनामा दिएका थिए । संसद् बैठक सुरु नहुँदै रावलले माधव नेपाललाई भेटेर देउवाको विपक्षमा मत दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, रावललाई नेता नेपालले हप्काएर यस्तो प्रस्ताव लिएर आफूकहाँ नआउन चेतावनी दिएपछि उनी रुष्ट बनेर त्यहाँबाट निस्किएका थिए ।

रावलले राजीनामा दिएको विषयमा अध्यक्ष ओलीको पनि चित्त बुझेको छैन् ।उनले पार्टीको ४ र ५ गते ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले आवेशमा आएर सांसद् पदबाट राजीनामा दिएको टिप्पणी गरेका थिए । र, सकेसम्म रावललाई सांसद् पदको राजीनामा फिर्ता लिन दबाब दिनुपर्ने बताएका थिए ।

आज नेपाल पक्षले सांसदहरु र केन्द्रीय सदस्यहरुको बैठक राखेका छन् । उक्त बैठकमा सहभागी नहुन रावललाई अध्यक्ष ओलीको फोन गएको स्रोतको दाबी छ । ओलीले पार्टीमा फर्किएर काम गर्न पनि रावललाई आग्रह गरेका छन् ।

यसअघि नै कार्यदलमा संयोजक हुँदा रावलले ओलीसँगको भेटवार्तालाई बाक्लो बनाएका थिए । कतिसम्म भने ओलीले पार्टीमा कार्यवाहक अध्यक्षसमेत वचन दिएका छन् । मेरियट होटलमा रअका प्रमुख सँग भेटवार्ता गरेको र ओलीको प्रलोभनमा परेको आरोप रावलमाथि लागेको छ । तर उक्त आरोपको उनले खण्डन भने गरेका छन् ।

नेकपा एमालेका भीम रावल हेर्दा निक्कै हक्की देखिन्छन्, कडा स्वभावका पनि । तर यसरी कडा स्वभावका मान्छे क्षणभरमै क्षणिक लाभमा कसरी सस्तिदा रहेछन भन्ने उदाहरण पनि उनी बनेका छन् । एमालेभित्रको विवादमा चर्का आलोचक थिए रावल अध्यक्ष केपी ओलीको । तर उनी ओलीसँगको एउटै भेटमा कसरी गले ? अहिले सबैको जिज्ञासा एउटै छ । तर उनको राजनीति हेर्ने हो भने एमालेभित्रकै धेरैले उनलाई अवसरवादी‘ नेताका रुपमा पनि आरोपित गर्ने गरेका छन् ।

चर्का क्रान्तिकारी देखिन खोज्ने मान्छे क्षणभरमा स्खलित हुन्छन् र आवेगमा निर्णय लिन्छन् भन्ने उदाहरण पनि रावल देखिएका छन् ।ओलीसँगको गत असार २० को बालुवाटार भेटपछि रावलमा एकाएक परिवर्तन देखा परेको हो । उनी ओलीसँग झुक्नै नहुने तर्क माधव नेपाल समुहमा बसेर गर्दथे । तर ओलीसँगको भेटपछि उनलाई ओलीले दिएको ’उत्तराधिकारी‘ (भलै उनले बाहिर स्वीकार नगरेपनि) को प्रस्तावले एकाएक गल्न पुगेको विश्लेषण माधव नेपाल समुहभित्रै हुन थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउन सर्वोच्च अदालतमा समेत पुगेर हस्ताक्षर गरेका रावल देउवाले विश्वासको मत लिने बेला भने विश्वासको मत दिन नहुने पक्षमा उभिए । उनले सिधै देउवालाई मत दिन नहुने धारणा राखे ।त्यसपछि माधव नेपाल र रावलको बीचमा केही बेर भनाभन भयो । रावल त्यसपछि बम्किएर राजीनामा दिने भन्दै निस्किए । दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनले सभामुखको टेबुलमा राजीनामा बुझाएर हिडे । बाहिर आएपछि सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै पनि उनले राजीनामा पत्र सञ्चारकर्मीहरुलाई वाचन गरेर हिँडे ।

रावलले विचमै मैदान छोडिदिएपछि नेता माधव कुमार नेपाल निराश भएका छन् । मैदान छोडेर भागेको भन्दै उनको आलोचना भइरहेको छ । यद्यपि चर्काे विरोध र दबाब आएपछि नेता रावलले आफ्नो राजीनामा फिर्ता लिने मुडमा रहेको पनि बताइएको छ । तर यसको आधिकारिक पुष्टि भने गर्न सकिएन् ।

प्रतिक्रिया दिनुहोस